दोस्रो पाइलो - जबरजस्तीका किस्साहरु
जबरजस्ती:
ना. १. कुराले वा बलले समातेपछि छाड्दै नछाड्ने व्यवहार ।
२. वलजफती: थिचोमिचो; मुढपेलाई ; अचाक्ली



जबरजस्ती डट कम
२०६७/१२/१५
जबरजस्ती नमस्कार,

जबरजस्तीडटकम किन र कुन प्रयोजनका लागि दर्ता गरियो भन्ने त सबैलाई लाग्नु स्वभाविक नै हो। तर यसका साहुजीका लागि भने त्यो तत्कालिन समयमा कुनै प्रयोजन भन्ने नै थिएन। आफ्नो दोस्ती संगको वार्तालापमा धेरै मात्रमा यो शब्दावली 'जबरजस्तीडटकम' (jabarjasti.com) प्रयोग हुन थालेपछि, यसका साहुजीलाई आफ्नो दोस्तीलाई कालजयी बनाउन, यो नाम दर्ता गर्न मन लाग्यो। यसो खोजे, खाली पनि रैछ र हचुवामा फ्याँकिदिए यौटा डोमेनको लागि भनेर।

अब पो आयो त कुरा ? क गर्ने त ? त्यत्तिकै खाली राखेर छोड्दिने, अथवा झुक्किएर हेर्न पुगेकाहरुलाई जबरजस्ती केही बेर भुलाउने बाटो गर्ने, यसो साइटमा केही राखेर ? अथवा केही कामै लाग्ने कुरो राखेर वेभसाइटलाई जबरजस्ती भएपनि चलाउने?

साहुजीले सोच्दै जाँदा, ल त यसलाई भुलाउनै भएपनि अथवा जबरजस्ती चलाउनै भएपनि केही न केही त राख्ने भन्ने निर्णयमा पुगे।

अब पालो दुनिँयाको ।

आजकाल के के हुन्छ प्रत्येक दिन। यसो सोच्नु त सबैले । प्रायजसो त जबरजस्तीनै हुन्छ जस्तो देखिन्छ । तर साहुजीको अनुरोध छ, 'जबरजस्ती'लाई यौटै अर्थमा मात्रै सोच्ने काम चाहीँ नगरौं है। ल तल पढौं । धेरै उदाहरण छन्, जुन आजकाल प्राय:जसो, जबरजस्ती नै हुने गरेको पाइन्छ । र तपाई, हामी कोही पनि अछुतो छैन, जबरजस्तीको भोगाईबाट । बुँदागत रुपमा लेखेको छ है तल।


१. नेपाली राजनीतिको कुरा उठाउनु नै बेकार छ। मन नलागेपनि जबरजस्ती भोट हाल्यो, जबरस्ती गरेरै भएपनि जित्छन्, अनि त्यही चाला सुरु। जबरजस्ती कुर्ची खोस्यो, जबरजस्ती बोल्यो, जबरजस्ती ढुकुटी उडायो, जबरजस्ती आफ्ना मान्छे घुसायो, के के हो के के ।
२. नेटवर्क लाग्दैन, तर पनि जबरजस्ती मोबाइल बोक्नै परेको छ। टेलिकम कम्पनीलाई सुधार हैन जबरजस्ती बिस्तार नै गर्नु परेको छ।
३. जबरजस्ती बनाउनकै लागि मात्रै बनेका छन्, नेपाली चलचित्रहरु। जबरजस्ती तारिफ गर्यो आफ़्नै गोरुको टक्का बढायो । हाम्रो यति दर्शक छन्, यस्तो , उस्तो ।
४. नेपाली टेलिसिरियल जबरजस्ती सोनी र स्टार आदिको चोर चार पारेर जबरजस्ती रुवायो, ल सिरियल बन्यो भन्यो, जबरजस्ती टिभीमा चलायो ।
५. कमेडी पनि जबरजस्ती । लालपुर्जा, ट्वाक्कटुक्क, हिजो आजका कुरा जस्ता कुनै बेलाका अहिले पनि यादगार रहने हाँसो, सायदै अहिले कसैले दिएका होलान्। अझ तिनै वालाहरुको कमब्याक पनि खासै दमदार छैन। चतुरेको दाउपेच भन्ने कसैलाई याद छ ? छ भने एकपटक फेरी हेर्नु मन छ है साहुजीलाई ।
६. समाचार जबरजस्ती
७. नेपाली संगित - जबरजस्तीको अर्को नमुना । जान्नु सान्नु छैन, सिधै एल्बम निकाल्यो । मिडियाले के उचाल्दिन्छ अनि के नै चाहियो - ऐजन ऐजन हरु पनि रातारात गायक, संगितकार भनेर बजारमा जबरजस्ती हाइहाइ
८. साहित्यमा पनि जबरजस्ती नभएको कहाँ हो र ? नियुक्ती देखि लिएर नाम/पद/उपाधिको विवाद त देखेकै हो ।
९. सकिनसकि जबरजस्ती पैसा कमाउन भनेर विदेशिएको कथा पनि कहाँ विरानो हुनु ।
१०. फेसन र मनोरन्जनका नाम वेभसाइट हेर्नु त कति जबरजस्ती छ। खाली मोडेल मोडेल भनेको छ, २/४ नानीहरुको फोटो खिचेर राख्यो पुग्यो ।
११. पैसा कमाउन जबरजस्ती इभेन्ट हरु ।
१२. न्यूरोडमा गयो जवरजस्ती राम्रा, राम्रीहरु
१३. जबरजस्ती हिङ्ग्रेजी, जबरजस्ती कोरियन, जबरजस्ती मोर्डन
१४. कहिलेकाहीँ त खाइ न पाइको जबरजस्ती पढाइ भन्दा पनि हुन्छ । लास्टाँ जागिर पाइने भएपो, अरु थोक भन्नु ।
१५. विवाह जबरजस्ती खर्च गरेर, दाइजो जबरजस्ती
१६. चाडवाड जबरजस्ती भएपनि मनाउनुपर्ने
१७, बत्ती छैन, लोडसेडिङ्गै लोडसेडिङ्ग । जबरजस्ती भएपनि बिजनेस चलाउनै पर्ने, व्यापार गर्नै पर्ने ।
१८. ट्राफिक जाम - जबरजस्ती भएपनि गाडी किन्नै पर्ने, यौटाले अर्कोलाई पेल्नै पर्ने ।
१९. तेल, ग्याँस - कुरै नगरम्
२०. महँगी - कुरै नगरे भो



नेपालमा मात्रै कहाँ हो र ? पुरा संसारनै जबरजस्तीमा चलेको छ ।


१. जबरजस्ती कसैको देशमा बम हान्यो
२. जबरजस्ती कसैलाई जेल चलान, र अन्त्यमा झुण्डाएर मार्दियो पनि
३. जबरजस्ती कसैको देशको सत्ता नै च्यूत पारिदियो, व्यवस्था नै परिवर्तन गरिदियो ।
४. यौटा देशको वोझ अर्कोलाई जबरजस्ती भिडायो - उदा. हरित ग्यासको असर आदि, .

के के हो के के. जे छ, सब जबरजस्ती रैनछ त ।

ल अब चाहीँ के गर्ने सल्लाह दिइन्छ, यो तलको कमेन्ट बक्समा लेखेर यसो सहगोग गर्ने कुरो भो है । यसमा चाहीँ केही जबरजस्ती छैन । कमसे कम केही त विना कुनै जवरजस्ती सोख र इच्छाले होस् । जबरजस्ती नै भएपनि पढेर होस् वा स्क्रोल गरेरै होस्, पुछार सम्म पुगेकोमा जबरजस्ती धन्यवाद ।